झापा अन्तिम चारमा
ADDDDDDDDDDDDDDDDDDDDDD
रमपम झापा–११ अन्तिम समयमा कास्की–११ लाई स्तब्ध पार्दै झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको सेमिफाइनलमा शनिबार प्रवेश गरेको छ । उसले कास्कीलाई ३–२ ले पराजित गर्यो ।
गणेश खड्काले १० औं मिनेट गोल गरेर झापालाई अग्रता दिलाए । सन्जोग राईको क्रसलाई उनले जाली चुमाउँदा पोखरेली गोलकिपर तेन्जिङ नाम्ग्यालले कुनै मौका पाएनन् । झापाको अग्रतासँगै कास्कीले आक्रामक खेल्दै झापालाई दबाबमा राख्यो ।
कास्कीका सुशील लामाले खेलको १९ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । पहिलो हाफको २४ औं मिनेटमा योगेश गुरुङको प्रहार पोस्टमा लागेर फर्किंदा त्यसलाई दिलेन लोप्चनले सदुपयोग गर्दै गोल गरे । विशाल राई र कर्ण लिम्बूले पहिलो हाफमा केही राम्रा मौका गुमाएका थिए । दोस्रो हाफको छैटौं मिनेटमा कास्कीका उत्तम गुरुङले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । उनले सुुशील लामाको पास सदुपयोग गरेका थिए । खेल सकिन ३ मिनेट बाँकी छँदा सन्जोग राईको क्रसपासलाई कर्णले गोलमा परिणत गरेर टिमलाई जित दिलाए ।
झापालाई घरेलु दर्शकको भरपूर समर्थन थियो । उद्घाटन खेलमा महाराष्ट्रको साङ्ली डीएफएलाई हराएर झापा क्वाटरफाइनल पुगेको थियो भने कास्कीले सोझै क्वाटरफाइनलमा मौका पाएको थियो ।
कास्कीका प्रशिक्षक विवेक गुरुङले मौका गुमाउँदा पराजित भएको बताए । ‘पाएका मौका सदुपयोग गर्न सकेनौं,’ उनले भने । झापाका प्रशिक्षक भगीरथ आलेले कास्कीलाई हराउन कठिन भएको उल्लेख गर्दै टिमलाई भाग्यले साथ दिएको बताए ।
ADDDDDDDDD

