लाईसेन्स बनाईदिने भन्दै ७० लाख ५० हजार ठगेको आरोपमा पूर्व सैनिक पक्राउ
ADDDDDDDDDDDDDDDDDDDDDD
उदयपुर, नेपाली सेनाका एक पूर्व सैनिकले यातायात ब्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाई दिने भन्दै विभिन्न ब्यक्तिहरुसंग लाखौ रुपैया ठगी गरेको आरोपमा एक पूर्व सैनिक पक्राउ परेको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित सर्बसाधारण तथा सशस्त्र प्रहरी बलमा कार्यरत विभिन्न व्यक्तिबाट ७० लाख ५० हजार ठगी गरेको आरोपमा सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका– ७ का हरिदेव मण्डल पक्राउ परेका हुन् ।
नेपाली सेनामा १० वर्ष सैनिक जागीर खाएर ६ वर्ष अघि उपदानमा सेवा निबृत्त भएका ३४ वर्षीय मण्डलले विभिन्न व्यक्तिलाई माध्यम बनाएर यातायात ब्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) निकाली दिने प्रलोभन देखाउदै ठगी गरेको आरोप पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक नरबहादुर केसीले जानकारी दिए ।
घरमै लाईसेन्स ल्याई दिन्छु भन्दै रकम लिने गरेका उनले लामो समयसम्म लाईसेन्स् नल्याएको र पैसा फिर्ता माग्दा पनि नदिएको भन्ने पीडितहरुको उजुरीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक केसीले बताए ।
पक्राउ परेका मण्डलले एक व्यक्तिबाट न्यूनतम ६० हजारदेखि अधिकतम ३० लाख सम्म रकम असुलेको उजुरीमा उल्लेख छ । मण्डलले भोजकुमार खड्काबाट मात्र ३० लाख रकम लिएका छन् भने अर्का चिन्ताबहादर महतोबाट १२ लाख र लालबहादुर घिसिङबाट ५ लाख असुलेको उजुरी परेको प्रहरी उपरिक्षक केसीले जानकारी दिए ।
त्यस्तै अन्य खिलनाथ बस्नेतबाट ४ लाख ९० हजार, लक्ष्मण राईबाट ४ लाख ५० हजार, सोईसाल लामाबाट ४ लाख र गोपाल तामाङबाट ६० हजार लिएर ठगी गरेको उजुरीमा जनाइएको छ ।
त्यसैगरी मण्डलले उदयपुर रुपाटार गाविस– ६ कटहरे घर भई गाईघाटस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्ममा कार्यरत उमेश हमालबाट २ लाख ५० हजार र उदयपुरकै मैनामैनी गाविस– ९ का गणेशकुमार राईबाट ७ लाख रुपैंया लिएको उजुरीमा उल्लेख गरिएकोछ । प्रहरीले गत असार ३० गते पक्राउ गरेको मण्डललाई अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरिक्षक केसीले जनाएका छन् ।
सरकारले लामो समय सवारी चालक अनुमति पत्र वितरणमा रोक लगाएको लाईसेन्स् गत वर्ष देखि खुल्ला भएपछि बनाउन खोज्नेहरुको यातायात ब्यवस्था कार्यालयमा भीड लाग्ने गरेको छ । पछिल्लो एक दशक सवारी साधनको चाप अत्याधिक बढेको भए पनि लाईसेन्स् बितरणमा सरकारी रोक लागेका कारण जति सुकै खर्च गरेर भए पनि सेवाग्राही लाईसेन्स् बनाउन तयार देखिन्छन् । यही मौका छोपेर मण्डल लाईसेन्स्को माध्यम बनाएर ठगी कार्यमा संलग्न भएको अनुमान प्रहरीले गरेको छ ।
प्रहरीले मण्डल पक्राउ परे पनि उनी एक्लैबाट यो काम भएकोमा शंका गरिएको छ । उनी एक्लैबाट नभएर यो काम कुनै गिरोहमा संलग्न भएर गरेको हुन सक्ने अनुमान प्रहरीले लगाएको छ । ‘यति ठूलो रकम पक्कै मण्डल एक्लैले परिचालन गरेको नहुन सक्छ’ प्रहरी श्रोतको भनाई रहेको छ ‘निश्चय नै उनको अघि पछि एउटा अदृष्य गिरोह सक्रिय भएको हुनु पर्छ ।’ केही दिन भित्रै सबै वास्तविक्ता बाहिर ल्याउने प्रहरीको प्रतिबद्धता रहेकोछ ।
यस कार्यमा मण्डल मात्र नभई यातायात ब्यवस्था कार्यालयको कर्मचारीको समेत मिलेमतो हुन सक्ने अनुमान गरिएको छ । पक्राउ परेका मण्डललाई ठगी सम्बन्धि मुद्धामा म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुुरले जानकारी दिए ।
ADDDDDDDDD

