एन्फाको निर्वाचन गर्न फिफाको निर्देशन
ADDDDDDDDDDDDDDDDDDDDDD
काठमाडौंः विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि निर्वाचन गर्न निर्देशन दिएको छ ।
फिफाले सोमाबार एन्फालाई पत्र पठाएर कारबाही गरिएको भनिएका चार पदाधिकारीलाई मे २३ (जेठ १०) गतेसम्म फिर्ता बोलाएर छिटो साधारणसभामार्फत नयाँ अध्यक्षको निर्वाचन गर्न निर्देशन दिएको हो ।
‘फिफाबाट एन्फालाई मे ९ तारिखमा लेखिएको पत्र प्राप्त भएको छ । हामीले मंगलबार पत्र पाएका छौं’, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘पत्रमा अध्यक्ष पदका लागि साधारण सभामार्फत निर्वाचन गर्न र चार पदाधिकारीमाथि गरिएको कारबाही विधान अनुसार नदेखिएकोले जेठ १० गतेसम्म उनीहरुलाई फिर्ता बोलाउन भनिएको छ ।’
अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले आफूमाथि गरिएको १० वर्षे प्रतिबन्ध फुकुवाका लागि गरेको अपिललाई फिफाले यसअघि नै अस्वीकार गरिसकेको छ ।
फिफाले शुक्रबार राति विज्ञप्ति जारी गर्दै थापाको अपिल खारेज गरेको थियो । फिफाको यस निर्णयले थापा अब फुटबलमा नौ वर्ष प्रतिबन्धमा रहनुपर्ने निश्चित भएको छ ।
फिफाले थापाको अपिल खारेज गर्दै फिफा आचरण कमिटीले गरेको निर्णयलाई सदर गरेको जनाएको छ । ‘फिफा अपिल कमिटी थापाले दर्ता गराएको अपिल खारेज गर्दछ’, विज्ञप्तीमा भनिएको छ, ‘फिफा आचरण कमिटीले ९ नोभेम्बर २०१५ मा गरेको १० वर्षको निलम्बन र करिब २१ लाख रुपैयाँ जरिवानाको समर्थन गर्दछ ।’
एन्फामा करिब २१ वर्ष अध्यक्ष रहेका थापाले सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगत र पारिवारिक लाभ हुनेगरी घूस लिएको ठहर गर्दै फिफाको आचरण समितिले कारबाही गरेको थियो । फिफाले प्रतिबन्ध १६ अप्रिल २०१५ देखि लागू भएको समेत उल्लेख गरेको छ ।
पदीय दुरुपयोग गरी आर्थिक भ्रष्टाचार गरेको आरोपमा फिफाले चार वर्षअघिदेखि नै थापामाथि अनुसन्धान सुरु गरेको थियो । फिफाले थापालाई २०७१ सालमा पहिलोपटक चार महिना र पछिल्लोपटक तीन महिना फुटबल गतिविधिबाट अलग राखेको थियो ।
थापा फुटबलबाट अलग भएपछि एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी तत्कालीन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले निर्वाह गरेका थिए । श्रेष्ठको गत वर्ष जेठ २९ गते करेन्ट लागेर मृत्यु भएपछि थापा केही दिन पुनः अध्यक्षको हैयितमा एन्फा फर्किएका थिए ।
गत कात्तिकमा थापालाई फिफाको आचरण समितिले १० वर्षे प्रतिबन्ध र आर्थिक जरिवानाको कारबाही गरेपछि एन्फा कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेन्द्र श्रेष्ठले बहन गर्दै आएका छन् ।
यसअघि थापाले भ्रष्टाचारको अभियोगमा आजीवन प्रतिबन्धमा रहेका एसियाली फुटबल महासंघ (एएफसी)का पूर्वअध्यक्ष मोहम्मद विन हमामसँग एक लाख अमेरिकी डलर लिएको सन् २०१२ खुलासा भएको थियो ।
त्यस बेला एएफसीमा कार्यरत थापाका छोरा गौरव थापाको खातामा हमामले उक्त रकम जम्मा गरिदिएको सार्वजनिक भएपछि फिफाले थापामाथि अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धानकै क्रममा थापाले हमामसँग थप एक लाख १५ हजार पाउन्ड लिएको पनि सर्वजनिक भएको थियो । तर, थापाले उक्त रकम पारिवारिक र व्यापारिक साझेदारीका रूपमा आफूले हमामसँग लिएको र फिर्तासमेत गरेको दाबी गर्दै आएका थिए ।
ADDDDDDDDD

